दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका दसौदी २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०५१, ०५६, ०७० सालको निर्वाचनमा समेत उम्मेदवार बनेको थिए ।
त्यसैगरी विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । रोल्पा नगरपालिका–४ निवासी उनी नेपाली कांग्रेसका जिल्ला पूर्वपार्टी सभापति पनि हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा थालनी गरेका आचार्य २०६४ सालमा समेत प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए ।
नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आइरहेका राजेन्द्रवीर रायलाई उम्मेदवार बनाइएको छ । रायको प्रस्तावकमा बर्दिया २(१) बाट निर्वाचित सांसद राजकुमार चौधरी छन् भने समर्थकमा बर्दिया २(२) वाट निर्वाचित प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।