काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दाबी गरेकी छन्। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्मा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् ।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै सूचनाप्रविधिमा सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनु परिरहेको र नेपालको जनशक्ति भने बाहिर गइरहेको बताइन् । उनले सरकारी डेटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताईन् । सरकारले आफ्नै सूचनाप्रविधि (आईटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री शर्माले सरकारी तथ्यांकहरुको सुरक्षामा माथि प्रश्नहरु रहेको स्वीकारिन् ।
‘मैले के बुझें भने हामीसँग थुप्रै डेटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो (मेन कि) हामीसँग छैन ,’ उनले भनिन्, ‘मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन ।’ उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताइन् ।