काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।२०७९ माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आइजीपी सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरासमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा शुभकामनासहित विदाइ गरेका छन् ।
उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।