काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक बनेका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको जानकारी दिए । औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।
देसाईसँग क्यानले २ वर्षको सम्झौता गरेको बुझिएको छ । यसअघि धेरै दिन उनको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो । आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिए ।नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अन्तिम टोली चयन हुन बाँकी छ ।