काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय चासो बढ्न थालेको छ । नेपालमा अमेरिकाबाट समेत एकपछि अर्को भ्रमण भइरहेका छन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार आएपछि अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् ।ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
काठमाडौंस्थित यूरोपेली संघ (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको छ । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।
आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति तथा महिला अस्पतालमा रहेको ह्युमन मिल्क बैंकको भ्रमण गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्री पद्म गिरीसँग सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रम (ईयू, जर्मनी र युनिसेफको सहयोगमा) प्रति ईयूको प्रतिबद्धता नवीकरण गर्ने उल्लेख छ । यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार गर्न जारी राख्ने ईयूले जनाएको छ । आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।