काठमाडौँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेताहरू ठूला सपनामात्रै बाँड्ने काममा लागि परेको आरोप लगाएका छन् । यसपटक जितेर आएका नयाँ सांसद पनि पुरानै नेतासरह सत्तामा लिप्त भएको गुरुङको भनाइ थियो ।
उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए । उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए । उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताए ।
सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताए । उनले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएका नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताए ।