रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सञ्चालनको लागि कूटनीतिक तथा प्राविधिक तयारीमा विशेष ध्यान दिने उनले प्रतिबद्धता जनाए । पहिलो पटक विमानस्थल पुगेका मन्त्री किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राख्दै यस्तो बताएका हुन् ।
निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताए ।उनले अहिले रोकिएको उडान सुचारु गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताएका हुन् ।उनले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्धता जनाए ।
उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रुटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने उनको भनाइ थियो । मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा गौतमबुद्व विमानस्थलको रुटको एजेन्डा राख्ने बताए । उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए ।
मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री किराँती समक्ष विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए ।