सिन्धुपाल्चोक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा केहि सुधार देखिन थालेको बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रत्नराज्य माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले सरकार अर्थतन्त्र सुधार गरेर जनतालाई सुशासन दिने पक्षमा काम गरिहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि बैंक तथा व्यवसायीको बीचमा नयाँ रुपमा सम्बन्ध अघि वढाउने कार्यको थालनी गरेको भन्दै यसको सकारात्मक सुधार देखिएको दाबी गरे। उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने आधारहरु देखा परेको बताए।
उनले अहिलेको सरकारलाई धेरै दलको सर्मथन प्राप्त भएकाले यो ठूलो जिम्मेबारी र चुनौती भएको महसुससहित आफू जनताको काममा केन्द्रित भएको प्रचण्डको जिकिर थियो ।
देशमा शुसासन कायम गर्दै विकास गर्नुपर्ने जिम्मेबारी आफूमा रहेको उनले बताए । एक्लै कसैको वलले मात्र देश विकास नहुने भएकाले सवैको हातेमालो, सहयोगले विकासको गति लिनसक्ने भन्दै नेपालको आर्थिक विकासका लागि मित्रराष्ट्र चीन र भारत दुवै देशसँग सहकार्यका लागि आफूले अग्रसरता लिएको उनको भनाइ छ ।