काठमाडौं । विवेकशील साझा पार्टीले नायक राजेश हमाललाई राजनीतिमा आउन आग्रह गरेको छ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरुले नायक हमाललाई राजनीतिमा आउन आव्हान गरेका थिए । भेटमा राजनीति र वैकल्पिक राजनीतिबारे कुराकानी भएको थियो । पाण्डेले सामाजिक सञ्जाल मार्फत भेट भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो। संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो ।”
पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका छैनन् ।