काठमाडौं । कैलालीका सांसद अरुण चौधरीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयमा पत्र पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । गृहमन्त्रालयका गृहसचिवलाई पत्र पठाउँदै अविलम्ब पक्राउ गर्न अनुरोध गरिएको छ ।
चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते आगो लगाएकोे मुद्दामा दोषी ठहर गरेको जानकारी पत्रमा उल्लेख छ । सो घटनामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले ६ महिनाको कैद सजायसहित आठ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो । यो दुवै सजाय भुक्तानी नगरी प्रतिनिधिसभा सांसद निर्वाचित उनलाई तत्काल पक्राउ गर्न गृहमा पत्राचार भएको हो ।
तत्काल पक्राउ गरी प्रतिनिधिसभा संसद सचिवालयलाई पनि उपलब्ध गराई प्रहरी महानिरीक्षकलाई निर्देशन दिन गृह सचिवलाई अनुरोध गरिएको छ । सांसद चौधरीले ढुंगा लिन चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लोड गरी लम्कीतर्फ आउँदै गरेका चालक साजन चौधरीलाई ८÷१० जनासहित कुटपिट गरी ट्याक्टरमा आगो लगाइ आठ लाख ७५ हजार रूपैयाँको क्षति पुर्याएको भन्दै मुद्दा परेको थियो ।