रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीमा नयाँ नेतृत्व आएको भएको १४ महिनापछि २१ वटा विभागका प्रमुखहरू चयन भएका छन् । कांग्रेसको विधान २०१७ को परिच्छेद ४ को धारा १३ को उपधारा ११ (क) र (झ) मा व्यवस्था भए बमोजिम प्रदेश सभापति अमरसिंह पुनले विभाग प्रमुख मनोनयन गरेको मुख्यसचिव मोहनराज शर्माले जनाएका हुन् ।संस्थापन इतर समूहको वर्चस्व रहेको समितिमा विभाग गठन गर्दा पनि २१ मध्ये ३ जना मात्रै संस्थापन समूहका परेका छन् ।
सभापति पुनले संगठन विभागमा प्युठानका सुवास केसी (क), प्रदेश कानुन तथा संसदीय मामिलामा पाल्पाका महेन्द्रप्रसाद पाण्डे, प्रदेश तथा स्थानीय निकाय विभागमा प्युठानका अमरप्रसाद भण्डारी, प्रचार विभागमा दाङका प्रचण्ड विक्रम न्यौपाने, संस्था समन्वय विभागमा नवलपरासीका विश्व प्रेम पाठक, भाषा, कला, साहित्य विभागमा प्युठानका सुवास केसी, शिक्षा तथा विज्ञान प्रविधिमा अर्घाखाँचीका डा. जयबहादुर टण्डन, स्वास्थ्य विभागमा बाँकेका अञ्जना पाण्डे, गैसस तथा सामाजिक सेवा विभागमा कपिलवस्तुका रविन्द्रनाथ ठाकुर, अनुगमन विभागमा दाङका देवनारायण चौधरी, युवा तथा खेलकुदमा रुपन्देहीका दीर्घ बहादुर केसीलाई मनोनयन गरेका छन् ।
त्यसैगरी शान्ति सुरक्षामा कपिलवस्तुका विक्रमसिंह थापा, ट्रेड युनियनमा रुपन्देहीका शान्ति शर्मा, अन्य पार्टी सम्पर्क विभागमा रुपन्देहीका रामबहादुर कार्की, तरुण समन्वय विभागमा बाँकेका टेकनारायण भुसाल, निर्माण व्यवसायीमा बर्दियाका भेषराज पौडेल, महिला समन्वयमा अर्घाखाँचीका शान्ता भण्डारी, सहकारी विभागमा रुपन्देहीका लीलाकुमारी पौडेल,वातावरण विभागमा बर्दियाका पुष्पलाल श्रेष्ठ, आदिवासी जनजातिमा गुल्मीका छन्द पहराई, यातायात विभागमा रोल्पाका पुष्पा श्रेष्ठले प्रमुखको जिम्मेवारी पाएका हुन् ।