पोखरा । निलम्बनमा परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछाने क्रिकेट खेल्न पाउने भएका छन् । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । बलात्कारको आरोप लागेपछि उनी भदौ २३ गते निलम्बनमा परेका थिए । लामिछाने गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीमाथि नाबालिका बलात्कार गरेको आरोप लागेको छ । सन्दीपलाई खेलमा फर्काउन क्यानको बैठकमा बहुमत सदस्य पक्षमा उभिएका छन् ।
लामिछानेलाई मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । उच्च अदालत पाटनबाट जारी भएको थुनछेक आदेशविरुद्ध सर्वोच्चमा गएको हो । क्यानका १६ जना पदाधिकारी सहितको सदस्य बैठकमा ७ सजना सदस्यले बैठक बहिष्कार गरेका थिए । नेपाल टि–२० लिगको स्पट फिक्सिङमा अध्यक्ष चतुरबहादुर चन्दले गल्ती स्विकारेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।