काठमाडौं । रवि लामिछाने विरुद्ध प्रहरीमा उजुरी दर्ता गर्ने प्रयास असफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै उजुरी दर्ता गर्न खोजिएपनि प्रहरीले अस्विकार गरिदिएको छ ।
युवराज पौडेल काठ्माण्डौ प्रहरी परिसर जाहेरी लिएर गएका थिए । लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन र आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन माग गरिएको जाहेरी दर्ता हुन पाएको छैन । अमेरिकी नागरिक रहेका बेला पुरानो नेपाली नागरिकता प्रयोग गरेर लामिछानेले २०७२ जेठ १२ मा नेपाली पासपोर्ट लिएका थिए ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले जाहेरी दर्ता नगरिएको हो । अमेरिकि नागरिकता त्याग गरेपनि पुनः नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पदनै गुमेको थियो । लामिछानेले नयाँ नागरिकता लिइसकेका छन् ।