काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै फर्किएका हुन् । सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदेखिएको बताइएको छ ।गृहमन्त्री पद दिन प्रधानमन्त्री प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । ’प्रधानमन्त्रीसँगको छलफल सकारात्मक देखिएन । साँझसम्ममा प्रधानमन्त्रीले हामीलाई गृह दिने निर्णय नगरे सरकारबाट बाहिरिने सम्भावना छ’, रविको सचिवालयका एक सदस्यले भने ।
नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ । माओवादी केन्द्रका एक नेताले भने, ‘हामी गृह मन्त्रालय आफैंसँग राख्न चाहान्छौं तर हामीमाथि तीव्र दबाव छ ।’