काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ ।
यसैगरी सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव समेत रहेका डा. विजय पौडेलले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार्यान्वयन, युवा शक्ति विदेश पलायन रोक्नुपर्ने लगायतलाई समेटिएको जानकारी दिए ।ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको पौडेलले जानकारी दिए ।