काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने भएको छ । नेताहरुका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेका छन् ।
सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति छ । सहमतिअनुसार माओवादीले अर्याललाई अगाडि सारेको हो । तर, जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभाको उपाध्यक्ष लिएर सरकारमा सहभागी हुन तयार भए छोडिने पनि माओवादी नेताहरु बताउँछन् । अन्यथा सत्ता साझेदार दलहरुको तर्फबाट अर्याल नै राष्ट्रिय सभाको उम्मेदवार बन्ने नेताहरुले बताए ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते मनोनयन दर्ताको समय छ । निर्वाचन माघ २३ गते हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा एमाले र माओवादी सम्मिलित सत्ता साझेदार दलहरुको बहुमत छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको टुंगो लगाएका छैनन् । तर, सत्ता सझेदार दलहरुले अर्यालको नाम लगभग टुंगो लगाएका छन् ।