काठमाडौं– सर्वोच्च अदालतको फैसलापछि पुनः नेपाली नागरिकता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका छन् ।
उच्च स्रोतका अनुसार लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार फैसला सुनाउँदै लामिछानेले अमेरिकि राहदानी तथा नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रिया पूरा गरेको नदेखिएको ठहर गरेको थियो।
सर्वोच्चको उक्त फैसलापछि लामिछानेको उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य र पार्टी सभापति पद गुमेको थियो।सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफूले अमेरिकी राहदानी तथा नागरिकता त्यागेको निस्सा पेस गर्दै नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका थिए।