काठमाडौं । रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरे ।
राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ । २१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।