भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले दूधको मूल्य बृद्धि गर्न माग गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष किशोर बगालेले दूधको मूल्य न्यूनतम ७० रुपैयाँ कायम गर्न माग गरे । दूध उत्पादनमा उपभोग हुने कच्चा पदार्थको मूल्य बढेकाले दूधको मूल्य बढाउनुपर्ने बताए । सरकराले गत वर्ष माघमा प्रतिलिटर दूधमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो । किसानले सहकारीमा दूध बेच्दा ५६ रुपैयाँ ४ पैसा पाउदै आएका थिए ।
“गतवर्षनै दूध उत्पादनमा प्रतिलिटर ६३ रुपैयाँ लागत थियो, यसपाली लागतनै ६८ रुपैयाँ हाराहारी लागत पर्छ”, उनले भने, “चोकरको मूल्य १५ सयबाट २१ सय पुग्यो, ३४ रुपैयाँको दाना ४१ पुग्यो, ३३ रुपैयाँको ढुटो ४२ पुग्यो, तर दूधको मूल्य बढेन ।” उनका अनुसार चितवनमा १ सय १५ वटा दुग्ध सहकारीहरु छन् । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्छ । ६८ हजार बढी दुधालु गाई–भैसी छन् ।
“सरकारले गत वर्ष कायम गरेको मूल्यले किसानले पेशानै छाड्नुपर्ने अवस्था बनेको छ”, उनले भने, “हालको मूल्यमा कम्तिमा १५ रुपैयाँ थप भएमा किसान पशुपालनमा रहने अवस्था आउथ्यो ।” संघले ३ सुत्रिय माग पनि राखेको छ । तत्काल दूधको मूल्य वृद्धि गर्नुपर्ने, पशु आहाराजन्य कच्चा पादर्थको मूल्य तत्काल रोक्नुपर्ने, बैंक तथा वित्तिय स.स्थाहरुलाई ऋण असुलीमा धरपकड गर्न नहुने मागहरु राखेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागीरथ तिमिल्सिनाले मूल्य वृद्धि गरिएपनि उपभोक्तालाई मूल्यवृद्धिको भार नपर्ने बताए ।
“किसानले पाउने गरी दूधको मूल्य बढाउन आग्रह गरेका हौँ”, उनले भने, “किसानले बेच्दानै ७० रुपैयाँ पाउनुपर्छ, त्यसैका लागि देशव्यापी पहल भैरहेको छ ।” उनले किसानबाट दूध किनेर बेच्ने व्यवसायीहरुले मनलाग्दी मूल्य राखेर उपभोक्तालाई बेच्ने परिपाटीलाई नियन्त्रण तथा नियमनका लागि समेत राज्यको ध्यानाकर्षण गराइएको बताए । संघका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले मूल्यवृद्धि गर्न देशव्यापी दबाब सृजना गरिने बताए ।
“कच्चा पदार्थको मूल्य घटाएर वैकल्पिक पौष्टिक आहारा प्रयोगमा जोड दिनुपर्ने देखियो”, उनले भने, “घाँस खेतीतर्फ किसानलाई आकर्षण बढाउनुपर्ने छ ।” स्थानीय दुग्ध उत्पादक किसान शिवलाल कँडेलले मूल्य वृद्धिका राज्यका तीनै तहका सरकारसँग पहल भएपनि नबढेको दुखेसो गरे । दूधको मूल्य नबढे चरणवद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिए । चितवन ३ वर्ष पहिले दूधमा आत्मनिर्भर घोषणा भएको थियो ।