काठमाडौं । निर्वतमान पुर्व उपप्रधानमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अबैध रहेको ठहर गरेपछि उनी आज जिल्ला प्रशासन गएका हुन् । २०५० सालमा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने ०७५ मा नेपाल फर्किएका थिए ।
उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् । आज उनले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि नागरिकताको प्रमाणपत्र पाएका हुन् । ०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको थियो ।
रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।
ढकालले भने, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ । नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।