जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन् ।प्रदेशका सत्ता साझेदार दलहरुबीच जनमत पार्टीबाट विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो । मन्त्री कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।
तर बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरु असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार मुख्यमन्त्री सरोज कुमार यादवसंगको छलफल पश्चात जनमतका मन्त्री कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका छन् ।
मधेश प्रदेश प्रमुख कार्यालयबाट बिहीबार प्रकाशित विनाविभागीय तीन मन्त्रीको कार्यालय विभाजनमा जनमतका कुशवाहालाई सामाजिक विकास मन्त्रालय नभएर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।जनमतका दलका नेता महेश प्रसाद यादवले सहमति विपरीत दिएको मन्त्रालय नस्वीकार्ने र बसेर छलफलपछि कसरी अगाडी बढ्ने निर्णय लिने बताएका थिए ।