भरतपुर । चितवनका कानुन व्यवसायीहरुलाई चुनावी तातो लागेको छ । विगतमा वामपन्थी धार र लोकतान्त्रिक धारका रुपमा चुनाव हुदै आएकोमा यसपाली भने चुनावी दृश्य फेरिएको छ । वामपन्थी धार मानिएको प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिएलए) र प्रजातान्त्रिक धार मानिएको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) एकआपासमा मिलेका छन् ।
१३ सदस्यीय कार्यसमितिमा १ जना सहसचिव र ८ जना सदस्य निर्विरोध चयन भैसकेका छन् । जसमध्ये सहसचिवमा एमाले निकट शिवकुमारी पाण्डे चयन भैसकेकी छन् । यस्तै सदस्यहरुमा डिएलएलाई ५, पिएलएका ३ जना सदस्य चयन भैसकेका छन् । पिएलएतर्फ एक एक जना एमाले, माओवादी, एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरु परेका छन् । ४ पदमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि पिएलए र डिएलए मिलेका थिए ।
जसअनुसार अध्यक्ष, कोषाध्यक्ष पिएलएलाई र उपाध्यक्ष र सचिव डिएलएलाई दिने गरी उम्मेदवार छनौट भएको थियो । तर, पिएलएभित्रको असन्तुष्ट समूहले स्वतन्त्र समूहबाट उम्मेदवारी दिएपछि ४ पदमा निर्वाचन हुन लागेको छ । निर्वाचन यही १३ गते शुक्रबार हुदैछ । नेपाल बार एसोसियसन चितवनको २२ औँ अधिवेशनको मतदान समय विहान ८ बजेदेखि ३ बजेसम्म तोकिएको छ । जिल्ला बारमा २ सय ३ जना सदस्यहरु छन् ।
संंयुक्त प्यानलबाट अधिवक्ता खगराज कँडेल र स्वतन्त्र समूहबाट अधिवक्ता गजेन्द्रप्रसाद वस्तीले उम्मेदवारी घोषणा गरेका छन् । कँडेल पिएलएको २ कार्याकाल सचिव र १ कार्याकाल उपाध्यक्ष भएका व्यक्ति हुन् । उनी बारमा सचिव, कोषाध्यक्ष भएर काम गरिसकेका छन् । उनी माओवादी निकट मानिन्छन् । स्वतन्त्र समूहका वस्ती एमाले निकट मानिन्छन् । उनी विगतमा सर्वसम्मत भएर कोषाध्यक्ष, सदस्य भएर काम गरिसकेका छन् ।
संयुक्त प्यानलबाट उपाध्यक्षमा कार्यसमिति सदस्य भएर काम गरिसकेका अधिवक्ता खगेश्वर अधिकारी उम्मेदवार छन् । २ कार्याकाल सदस्य, १ कार्याकाल कोषाध्यक्ष, १ कार्याकाल केन्द्रीय पार्षद र पछिल्लो निर्वाचनमा सचिवमै उम्मेदवार बनेका अधिवक्ता श्रीराम दवाडी यसपाली फेरी सचिवको उम्मेदवार छन् । अघिल्लो कार्याकालमा सचिवका उम्मेदवार अधिवक्ता रमेश काफ्ले यसपाली कोषाध्यक्ष उम्मेदवार छन् । उपाध्यक्ष अधिकारी र सचिव दवाडी कांग्रेस निकट मानिन्छन् । कोषाध्यक्ष काफ्ले एमाले निकट छन् ।
स्वतन्त्र समूहबाट उपाध्यक्षमा अधिवक्ता बद्रि गौतम विगतमा डिएलए निकट मानिएपनि केही वर्ष यता स्वतन्त्र रहदै आएका छन् । यस्तै एकीककृत समाजवादी निकट मानिएका अधिवक्ता जनकराम पौडेल सचिवमा र अधिवक्ता धर्मेन्द्र थापा कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । वर्तमान जिल्ला बारको कार्यसमितिमा १ उपाध्यक्ष र १ महिला सदस्य बाहेक अन्य सबै पिएलएबाटै निर्वाचित थिए । हालसम्म चितवनमा २०५५ मा भुपेन्द्रजंग पौडेल, २०६१ मा धर्मराज आचार्य, २०६५ मा जगन्नाथ भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यी बाहेक अन्य १८ जना अध्यक्ष चयनमा चुनावनै भएको थियो ।
संयुक्त प्यानबाट अध्यक्षका उम्मेदवार रहेका कँडेलले चितवन बार एसोसियसनलाई देशकै नमुना बनाउन उम्मेदवारी दिएको बताउँछन् । “बार र वेञ्चबीचको सम्बन्ध विस्तार गर्नुछ, आर्थिक रुपमा सबल बनाउनुछ”, उनले भने, “चितवनको बार साँच्चैको राम्रो छ भन्ने सन्देश जनमानसमा दिनुछ ।” उनले पेशालाई मर्यादित बनाउँदै नयाँ–पुराना कानुन व्यवसायीलाई एक्यवद्ध गर्न नेतृत्वमा दाबी गरेको बताए । स्वतन्त्र समूहबाट अध्यक्षका उम्मेदवार रहेका वस्ती जिल्ला बार भित्र राजनीतिक हस्तक्षेप रोक्न उम्मेदवारी दिएको बताउँछन् । “कानुन व्यवसायीहरु स्वतन्त्र हुनुपर्छ, दलले उम्मेदवार हुनुपर्छ भनेकै भरमा नेतृत्वमा सिफारिस गर्ने परिपार्टी अन्त्य हुनुपर्छ”, उनले भने, “चितवन बार कानुन व्यवसायीहरुको संस्था हो, दलीय प्रभावमा पर्न दिनुहुदैन ।” उनले जिल्ला बारलाई सबैको साझा संस्था बनाउन आवश्यक रहेको बताए । “कानुन व्यवसायमा उत्साह ल्याउन, व्यवस्थित गर्न र सम्मानित पेशा बनाउन उम्मेदवार बनेको छु”, उनले भने, “दलीय जोडघटाउ गरेर नेतृत्वबाट वञ्चित कोही हुदैनन् भन्ने सन्देश दिनेछौँ ।”
पिएलएभित्र असन्तुष्टी बढेपछि स्वतन्त्र धार उत्पन्न भएको देखिन्छ । पिएलएभित्र एमाले निकट गजेन्द्रप्रसाद वस्ती, शेषशंकर उप्रेती, नुनराज सिलवाल र माओवादी निकट खगराज कँडेल, पदमराज दाहाल, छायाँकुमारी चन्दले अध्यक्षमा दाबी गरेका थिए । पिएलएले खगराज कँडेललाई अध्यक्ष उम्मेदवार बनाउने गरी डिएलएसँग भागबण्डा मिलाउन पुगेको थियो । पटक–पटक जिल्ला बारको नेतृत्वको अवसर लिनबाट वञ्चित बनेको डिएलएले २ पदाधिकारी सहित बहुमत सदस्य दिए कार्यगत एकता गर्न सकिने संकेत दिएपछि यी डिएलए र पिएलए मिलेका थिए ।