काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अराोप लगाउँदै उनले कार्यकर्ताहरुलाई भने, ‘उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।’समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए ।
सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए । ओलीले भने ‘हामीले त्यसरी एक अवधिको एउटा भुल्कोको राजनीति गर्ने होइन, त्यो दिगो हुँदैन ।’
स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर फर्किने बेलामा सञ्चारकर्मीहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा हुँदैछ नि भन्ने प्रश्नमा उनले भने, ‘मलाई यो कुरामा धेरै नजिस्काउनुस् न तपाईंहरू जतिबेला भेट्यो त्यतिबेला जिस्क्याउनुहुन्छ तपाईंहरू । मैले भन्ने कुरा भनिसकेको छु ।’