काठमाडौं । मंगलबार संसद् भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको निधनपछि गृहमन्त्री लामिछानेले माफी मागेका छन्। बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।
सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले त्यो अवस्थाबाट आफूहरुले रोक्न नसकेको भन्दै माफी मागेका हुन् ।
उनले नयाँ अनुहारका रुपमा आफूहरु सरकारमा सहभागी भए पनि उत्साह थप्न नसकेको र आशा जगाउन नसकेको भन्दै माफी मागेका हुन् । उनले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्नबाहेक अरु केही बाँकी नरहेको बताएका छन्।
उनले भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनलेसमेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला ।’