काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले फागुन र चैतमा देशव्यापी जनसंघर्षका कार्यक्रम गर्ने भएको छ । दुई दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले जनसंघर्षका कार्यक्रम सहित १३ बुँदे निर्णय गरेको छ ।
धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनस्थापना, प्रदेश तहको खारेजी, भ्रष्टाचारको विरुद्ध कार्यक्रम गर्ने जनाएको छ । धर्म संस्कृति, परम्परामाथिको संगठित र योजनावद्ध हमला रोक्न आव्हान समेत गरेको छ । प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा सनातन हिन्दुराष्ट्र पुनस्थापनाको निम्ति जनमत तयार गर्न राप्रपा नेपालमा आवद्ध धामिर्क महासंघका इकाईलाई सबै पालिकाका वडाहरुमा गठन समेत गरिने उल्लेख छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको बैठकले महाधिवेशनको मिति पनि तय गरेको छ । २०८० फागुन ७ देखि ९ गतेसम्म काठ्माण्डौमा महाधिवेशन गर्ने समेत निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. विष्णु भण्डारीले निर्वाचन समिक्षा प्रतिवेदन, महामन्त्री भाष्कर भट्टले सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाले संगठन सुदृढिकरण प्रतिवेदन, कोषाध्यष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।