काठमाडौं । मंसिर ४ को चुनावमा दलहरुले गरेको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको समनुपातिक निर्वाचन प्रणालीका लागि दलहरुले गरेको खर्च विवरण बुझाएका हुन् । ४७ वटा दलहरुले विवरण बुझाएका छन् । समानुपातिकतर्फका उम्मेदवारहरुले आयोगले तोकिदिएको खर्च सीमा भित्र रहेर खर्च गरेका छन् ।
विवरण केलाउँदा सबैभन्दा धेरै एकीकृत समाजवादी पार्टीले खर्च गरेको पाइएको छ । एकीकृत समाजवादीका तर्फबाट समानुपातिकतर्फ करिब ५ हजार मत समेत नपुग्दा राष्ट्रिय दल बन्न पाएको छैन । यसपालीको चुनावमा ७ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएक छन् । तर, एकीकृत समाजवादीले समानुपातिक तर्फका उम्मेदवारलाई जिताउन अन्य दलले भन्दा धेरै खर्च गरेको देखिन्छ ।
एकीकृत समाजवादीले १ करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ । बढी खर्च गर्नेमा दोस्रो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परेको छ । राप्रपाले १ करोड ८९ लाख खर्च गरेको छ । नेपाली कांग्रेसले १ करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको जनाएको छ । नेकपा (एमाले)ले १ करोड ३३ लाख २६ हजार ६९३ रुपैयाँ, नेकपा (माओवादी केन्द्र)ले १ करोड चार लाख ३४६ रुपैयाँ खर्च गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले ३ लाख ८८ हजार खर्च गरेको छ । बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसारका लागि खर्च नै नभएको जनाएको छ ।