काठमाडौँ । माओवादी केन्द्रभित्र उपराष्ट्रपतिका आकांक्षीहरु बढ्न थालेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को कार्यकाल यही चैत ५ मा सकिदैछ । कार्यकाल पुरा हुनु १ महिना अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनकै बेला सत्तागठबन्धनभित्र राष्ट्रपति एमालेबाट र उपराष्ट्रपति माओवादी केन्द्रबाट बनाउने समझदारी बनेको छ ।
उपराष्ट्रपति पदको उम्मेदवार बन्न नेताहरुको दौडधुप बढेको छ । नेताहरु लविङमा लागेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष प्रचण्ड लगायतका शिर्षनेताहरुसँगको छलफल बढाउन थालेका छन् । स्थायी समिति सदस्य जयपुरी घर्ती, पूर्णकुमारी सुवेदी, यशोदाकुमारी सुवेदी गुरुङ उपराष्ट्रपति बन्ने लाइनमा उभिएका छन् ।
एमालेका तर्फबाट राष्ट्रपतिमा पुरुष उम्मेदवार बनाए यी महिला नेतृहरुमध्ये एक जनाको नाम सिफारिस हुन सक्ने देखिन्छ ।
एमालेबाट महिला नेतृलाई राष्ट्रपति बनाए उपराष्ट्रपतिका लागि माओवादीका पुरुष नेताहरुमध्येबाट नाम सिफारिस हुने देखिन्छ । उपमहासचिव मातृकाप्रसाद यादव, सचिव दिनानाथ शर्मा, लीलामणि पोखरेल, डिलाराम आचार्य, पोलिटब्यूरो सदस्य रामेश्वर राय यादव उपराष्ट्रपति बन्ने लाइनमा छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा जाने मौका कसले पाउने छ, त्यो हेर्नै बाँकी छ । वर्तमान उपराष्ट्रपति पुन दोस्रो कार्याकाल पुरा गर्दै चैतमा बाहिरिदैछन् ।
राष्ट्रपतिको चुनाव भएको एक साताभित्रै उपराष्ट्रपतिको निर्वाचन हुनेछ । तर, राष्ट्रपतिको निर्वाचनको मिति तय भैसकेको छैन । घर्ती र पूर्वउपसभामुख सुवेदीले मंसिर ४ को चुनावमा टिकट पाएनन् । महासचिव देवप्रसाद गुरुङकी श्रीमति यशोदा पनि उपराष्ट्रपति दौडमा छिन् ।