भरतपुर । चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय सर्वोत्कृष्ट बनेको छ । ‘२२औं सशस्त्र प्रहरी दिवस’ को अवसरमा शिक्षालय कुरिनटारलाई पुरस्कृत गरिएको हो । सशस्त्रका १२ वटा तालिम शिक्षालयमय कुरिनटार सर्वोत्कृष्ट बनेको हो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्रको मुख्यालयमा एक समारोहकाबीच पुरस्कृत गरिएको छ ।
गत वर्षपनि कुरिनटारनै सर्वोत्कृष्ट बनेको थियो । २०६२ मा सुरक्षा बेस क्याम्प बनेकोमा २०६७ देखि पहिलो पटक विपद् व्यवस्थापन तालिम सञ्चालन गरेको थियो । बेस क्याम्प २०६८ मंसिर २२ मा नेपालकै पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रका रुपमा स्तरोन्नती भएको थियो । शिक्षालयका रुपमा नामाकरण २०७५ असार १५ गते भएको थियो ।
हालसम्म २ हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीले आधारभूत विपद् व्यवस्थापन तालिम पाएका छन् ।
पछिल्लो एक वर्षमा शिक्षालयले विभिन्न आधारभूत तथा उन्नत विपद् व्यवस्थापन तालिममा गरी ७ सय ६५ जना व्यक्तिहरुलाई तालिम दिएको छ । नेपालमै गोताखोर तालिम सञ्चालन गरी २० जना गोताखोरहरु उत्पादनसमेत गरिसकेको छ । गोताखोरहरुले नेपालको विभिन्न नदीनाला, पोखरी, ताल तथा पानीभित्र खोज तथा उद्वार कार्य गर्न सहयोग गर्दै आएका छन्। शिक्षालयले हालसम्म ३ हजार जनालाई विभिन्न तालिम दिइसकेको छ। २१७ विपद्का घटनामा शिक्षालयले खोज तथा उद्वारका काम गरिसकेको छ । ७ सय ७९ जना घाइतेहरुको उद्वार तथा ३ सय १० वटा शवहरु फेला पारेको थियो ।