काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध अनुसन्धान समितिको म्याद थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो ।
उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि पर्याप्त समय नभएको भन्दै २२ पुसमा छानबिन समितिको म्याद पहिलो पटक थप भएको थियो । दुई साता थप भएको म्याद सोमबार सकिएको छ ।
पहिलो पटक थप भएको समयमा पनि समितिले प्रतिवेदन तयार गर्न नसकेपछि सोमबार दोस्रो पटक म्याद थप भएको छानबिन समितिकी सदस्य कुमारी राईले जानकारी दिइन् । सोमबारदेखि लागु हुने गरी समितिले एक साताभित्र प्रतिवेदन बुझाउनु पर्ने उनले जानकारी दिइन् ।
पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।
महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा गठित छानबिन समितिमा न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई पनि सदस्य छन् ।