काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारी तीव्र पारेको छ । स्ववियु चुनावलाई लक्षित गरेर केन्द्रीय अनुगमन समन्वय समिति गठन गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा समिति बनाइएको हो ।
समिति १६ सदस्यीय रहेको छ । सहसंयोजकमा त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहाल र समितिका सदस्य सचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहेका छन् । अवाञ्छित गतिविधि रोकथाम गर्दै शान्तीपूर्ण निर्वाचनका गतिविधि सफल पार्न आवश्यक पर्ने आचारसंहिता, निर्देशिका तथा कार्यविधि बनाइने जनाइएको छ ।
चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिविले निर्णय गरिसकेको छ । हरेक दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । पुस २८ मै आंगिक क्याम्पसहरुलाई पत्र पठाउँदै चुनावको तयारी गर्न निर्देशन दिएको थियो ।
सम्बन्धन प्राप्त क्याम्पसहरुलाई सूचना पठाइसकेको छ । ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । यसपालीको चुनावमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।