काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताएका छन् ।सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताए ।
राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सकारले कुनै पनि हस्तक्षेप नगर्ने उनले बताए । उनले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने जिकिर गरे । त्यस्तै उनले करका विषयमा समस्या देखिएको गुनासो आएको भन्दै सरकारी सेवा प्रवाहमा कतै समस्या देखिए भए निजी क्षेत्रले त्यसको जानकारी दिन आग्रह गरे ।
अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रबर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न आवश्यक रहेको भन्दै सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको विकासका लागि बैङ्कहरूसँग सहकार्य गरिरहेको उनको भनाइ छ ।त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदरमा स्थायित्व, सरल र सहज कर प्रणाली बनाउनका लागि राज्यले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।