प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।२८५९औं सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे।
‘आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई–तावर ल्हो (बिरालो वर्ष)को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने।
नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको संगमस्थल भएको उल्लेख गर्दै उनले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए।
नेपालमा बसोबास गर्ने सबै जाति–जातजातिको आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेका र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।
‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो,’ उनले भने ।प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए ।‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो,’ उनले भने ।