काठमाडौं । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सर्कुलर जारी भएको छ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर पठाइएको छ । सांसद कोइरी पक्राउ नपरेको भन्दै आलोचना हुन थालेपछि गृहमन्त्रीले तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । एमालेका सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ मबाट निर्वाचित भएका हुन् ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले गृह मन्त्रालयले मौखिक र लिखित निर्देशनका आधारमा पत्रचार भएको जानकारी दिए । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
२०७२ मा मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप उनीमाथि लागेके छ । कोइरी यसअघि जसपामा थिए । चुनावका बेला एमाले प्रवेश गरेका हुन् । थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । कोइरीले पनि पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।