काठ्माण्डौ । नेपाली कांग्रेसले प्रमख विपक्षी दलले पाउने सेवा सुविधाबारे संघीय संसद सचिवालयलाई पत्र पठाएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी दल को भन्ने प्रश्नहरु उब्जिएका छन् । कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको छ ।
पुस २९ गतेनै पत्र पठाउँदै कांग्रेसले सेवा सुविधाबारे चासो दिएको हो । संसद सचिवालयले माघ ५ गतेनै जवाफ पठाइसकेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसारको सुविधा पाइने भन्दै सचिवालयले जवाफ दिएको छ ।
ऐनअनुसार, विपक्षी दलका नेताले पारिश्रमिक, विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका), आवास सुविधा, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त, गार्डघर, सवारी इन्धन, मोबिल, यातायात सुविधा, बिजुली धारा, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा पाउनेछन् । कांग्रेसले सेवा सुविधाबारे चासो लिएपनि प्रमुख विपक्षी दल तोक्न माग गरेको छैन ।