काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने प्रक्रिया अगाडी बढेको छ । दलभित्र ठोस प्रस्ताव तयार गर्न लागिपरेका छन् । पार्टीको विधान, प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले जानकारी दिए । माघ १० बस्ने बैठकले एकता टुंग्याउने तयारी भएको बताए ।
माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ । नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता गठन गरेको छ । वार्ता टोली गठन भएको दुई हप्ता भैसकेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई छिटै एकता गर्ने पक्षमा छन् । तर, वार्ता टोलीले एकताको मोडालिटीनै तयार गर्न सकिरहेको छैन । एकैसाथ दुई दलबाहेक अन्य दलहरुलाई समेत एकतामा ल्याउनका लागि केही ढिलाई भैरहेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए ।
माओवादी केन्द्र र नेसपाको नाम के राख्ने भन्ने विषयमा पनि छलफल भैरहेको छ । समाजवादी केन्द्र वा समाजवादी नाम राख्नुपर्ने अडानमा पूर्वप्रधानमन्त्री भट्टराई छन् । जनता समाजवादी पार्टीलाई पनि एकतामा ल्याउने तयारी भैरहेको छ । पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा अहिलेसम्म एकिन भैसकेको छैन । माओवादी केन्द्र र नेसपाबीच एकता गरेपछि अन्य दललाई पनि एकिकरण गर्ने सोचमा यी दुई दल लागेका छन् । जसपा, एकीकृत समाजवादी, आमजनता पार्टी लगायत पार्टीसँग पनि एकता गर्ने सोचमा छन् ।