काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले भ्रष्टाचारको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असफल भएको बताएका छन् । सांसद शाहीले भ्रष्ट्राचारको फइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताए ।
उपसभामुखको निर्वाचनमा समर्थन गर्न रोष्टममा पुगेका राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले संसद्मा पात्र मात्र फेरिएको तर प्रवृत्ति नफेरिएको दाबी गरे ।
भ्रष्टाचारका मुद्दामा ठूला आवाजले सडक तात्ने र पत्रिका अनलाईनमा समाचार छापिने तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको उनको आरोप छ। उनले अन्य देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु भ्रष्टाचारमा जेल गएको र सर्वस्व हरण भएको सुनेको भन्दै अब नेपालमा पनि सुन्न पाउनुपर्ने बताए ।
विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको भन्दै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए ।