जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्या आरोप लागेका १ जना व्यक्तिलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ बस्ने ७२ वर्षीय तेजनारायण झा रहेका छन् ।
२०७७ साल फागुन १० गते रातिदेखि वेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिकाको सहोडवाका ६५ वर्षीय मुसाफिर झा र श्रीमती ६० वर्षीया गीतादेवी चैत १२ गते पिपरा–२ अतरार जाने बाटोमा शव फेला परेको थियो । पक्राउ परेका झा भारतको गुवाहाटीमा पुजारीको काम गर्दै आएका थिए । उनी बेलाबेलामा काँकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
शुक्रबार झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका हुन् । हत्यामा मतियारको भूमिका निर्वाह गरेको आरोप उनलाई लागेको छ । प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा छन् भने ४ जना धरौटीमा छुटेका छन् ।