काठमाडौँ । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका छन् ।प्रतिनिधिसभामा शनिबार उपसभामुखमा कांग्रेस नेतृ मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख सत्तापक्षबाट भएपछि उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताएका हुन् ।
नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका हुन् ।
सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, हाम्रो संविधानमाथि आक्रमण गर्ने काम जिम्मेवार नेताहरूबाट भएको छ । पूर्व प्रधानमन्त्रीबाटै भएको छ । किनभने यो ठाउँमा उभिएर आफूलाई संविधानले नचिनेको, थाहानपाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर त्यसको नाताले जुन किसिमले कार्यपालिका भन्दा ममाथि छु कि प्रधानमन्त्री त्यो उच्चस्तरीय संयन्त्रको सदस्य मात्रै हो भन्ने ढंगको अभिव्यक्ति हामीले उहाँको त्यो बुझ्न सकिन्छ ।
सांसद पाण्डेले प्रतिनिधिसभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणा समेत राखे । नेपाली काँग्रेसले प्रतिपक्ष दलहरूको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ ।