उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले सीके राउतले संसदीय मर्यादाविपरीत संसद्मा आफैंले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए ।
उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।
त्यो काम संसदीय मर्यादा र नियमविपरीत भएकाले प्रधानमन्त्री प्रचण्डसहित आफूहरूले मौनधारणमा सहभागी नभएको पनि लिङ्देनले स्पष्ट पारेका छन् ।
उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसद्मा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि आह्वान गरे ।