काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सोविता गौतमले उपसभामुख पदमा इन्दिरा रानालाई मतदान गर्न भोटको अपिल गरेकी छन् ।शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् ।रानाको प्रस्तावक गौतमले सांसद राना समाज रूपान्तरणको अथक प्रयासपछि आएको व्यक्तित्व भएको जानकारी गराएकी हुन् ।
कारागारमा रहेका बालबालिकाको शिक्षा दीक्षामा आफूलाई समर्पित गरेको बताउँदै रानालाई उपसभामुख पदमा निर्वाचित गर्नुपर्ने उनले तर्क अघि सारिन् ।सांसद रानामगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।
उनले भनिन्, ‘उपसभामुख पदमा सीमान्तकृत समुदायका दुई महिला प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।यो लोकतन्त्र सुदृढ हुँदै गएको हो भन्ने सङ्केत पनि हो । यो प्रतिस्पर्धा सुखद संयोग मात्र नबनोस् । यस्तो प्रतिस्पर्धा हाम्रो लोकतन्त्रको सामान्य प्रक्रिया बन्दै जाओस् । लोकतन्त्र भनेको फगत शासन शैली होइन जनताहरूको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र सम्भव हुन्छ ।’