काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् । गृहमन्त्री रवि लामिछानेले सस्तो लोकप्रियताका लागि मिडियामा हौवा फिँजाउन वक्तव्यवाजी गरेको भन्दै सांसद खतिवडाले आपत्ति जनाए । प्रतिनिधिसभाको शनिबारको बैठकको शुरुमै सांसद खतिवडाले गृह मन्त्रालयबाट जारी भएको वक्तव्यलाई गृहमन्त्रीको फण्डाको संज्ञा दिए ।
गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि उनले बताए । सांसद खतिवडाले गृहम्नत्री फेरि मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको आरोप लगाए ।
गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् । उनले गृहमन्त्रीतर्फ संकेत गर्दै नागरिकता र पासपोर्टको समेत छानबिन भइरहेकाले सभामुखबाट रुलिङ माग गरेका थिए ।