काठमाडौं । मन्त्री छनौटबारे राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रै आन्तरिक किचलो सुरु भएको छ । भ्रष्टाचार मुद्धामा धरौटीमा छुटेका उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाइएपछि पार्टीभित्र खटपट बढेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आँफुखुशी मन्त्री सिफारिस गरेर मन्त्री बनाएको भन्दै उनको आलोचना सुरु भएको छ । पाण्डे विरुद्ध सिक्टा सिँचाई आयोजनाको नहर निर्माण प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्धा हालेको थियो । पाण्डेलाई विशेष अदालतले सफाई दिएपनि फैसलाको पूर्णपाठ आउनै बाँकी छ । पूर्णपाठ आएलगत्तै अख्तियार सर्वोच्चमा पुनरावेदन जाने बाटो भने खुल्लै छ ।
भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भन्ने अभियानै चलाएका अध्यक्ष लिङदेन भ्रष्टाचारकै आरोप भोगेका व्यक्तिलाई मन्त्री बनाउन लागिपरे । संसदीय दललले मन्त्री छान्ने जिम्मा दिएपनि लिङदेनले विवादमा मुछिएका र स्वार्थ बाझिने नेतालाई बोकेको आरोप लागेको छ । भ्रष्टाचार विरोधी पार्टीको छवि बनाउदै गएको राप्रपाले भ्रष्टाचारकै मुद्धामा मुछिएका व्यक्तिलाईनै मन्त्री बनाएको भन्दै पार्टीभित्र द्वन्द सुरु भएको छ । समाजिक सञ्जालमा समेत टिकाटिप्पणी तथा आलोचना, व्यंग्य गर्ने क्रम बढेको छ । राप्रपाले उपप्रधान सहितका ३ मन्त्री र १ राज्यमन्त्री पाउने भएपछि नेताहरुबीच मन्त्री बन्ने दौड सुरु भएको थियो । राप्रपाबाट १४ जना सांस्द चुनिएका थिए । लिङदेन मंसिर ४ को निर्वाचनका बेला पाण्डेको पक्षमा उभिएका थिएनन् ।
एमालेसँग चुनावी तालमेलहुदा समेत प्रचण्ड उठ्ने भनिएको चितवन–३ मा पाण्डेलाई एमालेको समर्थन जुटाउन पहल गरेका थिएनन् । तर, एमालेले पनि कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने हुदासम्म एक्लै परेका पाण्डेले निकै दौडधुप र खर्च गरेपछि चुनाव जिते । उनी कालिका कन्ट्रक्सनका मालिक समेत हुन् । क श्रेणीका ठेकेदार पाण्डेले स्वार्थ बाझिने मन्त्रालयनै रोजेपछि पार्टीभित्र आलोचना भएको छ ।
पार्टीभित्र मन्त्री बन्न योग्य व्यक्तिहुदा समेत भ्रष्टाचारको आरोपमा मुछिएका व्यक्तिनै रोज्नुको कारणको खोजी भैरहेको छ । लिङदेन पक्षधर नेताहरुले भने मन्त्री बन्न नपाएकाहरुले पार्टीभित्र खटपट भएको हल्ला चलाएको तर्क गर्छन् । तर, सामाजिक सञ्जालमा भ्रष्टाचारको मुद्धामा धरौटीमा छुटेर फैसलाको पूठपाठ कुरेर बसेका व्यक्तिलाई रोज्न नहुने तर्कहरु आइरहेका छन् । लिङदेनले राप्रपाप्रति बढेको जनमतलाई उपयुक्त मन्त्री नछानेर गल्ती गरेको आरोप लागेको छ ।
राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पाण्डेको विषयमा उत्पन्न विवादको जिम्मेवारी अध्यक्ष लिङदेनले लिनुपर्ने बताए । “ मन्त्री सिफारिसको जिम्मेवारी अध्यक्षलाई दिइएको थियो”, उनले भने, “जस–अपजस अध्यक्षलाईनै जान्छ, मेरो भन्नु केही छैन ।” मन्त्री छनौटबारे पार्टीभित्र छलफल नभएको धेरै नेताहरुको आरोप छ । स्रोतका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अध्यक्ष लिङदेनसँग असन्तुष्ट छन् । राजनीतिमा स्वार्थको द्वन्द हुन नहुने भन्दै वकालत गर्दै आइरहेका छन् ।