काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । पुस ३० गतेदेखि सुमेरु सिटी अस्पतालमा जण्डीस रोगको उपचारमा छन् । उनको कलेजो बिग्रिसकेकाले नयाँ कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।
पेट रोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले केही हप्ता वा महिनादिनभित्रै कलेजो प्रत्यरोपण गर्नुपर्ने बताए । उनका अनुसार कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ । पुनको दुई महिनायता पेटमा पानी जम्ने समस्या आएको थियो । नेता पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता पुगिसकेका छन् ।
अस्पतालले कलेजो प्रत्यारोपण गर्नेबारे परिवारका सदस्यहरुबीच छलफल गरिसकेको छ । पुन यसअघि चीनमा स्वास्थ्य उपचार गराएर फर्केका थिए । डा. शर्माले पुनको स्वास्थ्य अवस्था स्थिर रहेको बताए । बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस समस्या उनमा देखिएको हो । कलेजो प्रत्यारोपण गरेको करिब ६ महिनामै कलेजो विकास हुने गर्छ ।