भरतपुर । यही पुस ७ गते राप्रपाका सांसदहरुले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्दै सांसद पदको शपथ लिएका थिए । तर, २७ दिनभित्रै सो शपथकै अवमूल्यन भएको दृश्य फेरी देखिएको छ । यो शपथ राप्रपाका सबै सांसदले लिएका थिए । तर, राप्रपाले भ्रष्टाचार मुद्धा खेपेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाएको छ ।
उनी निर्माण व्यवसायी अर्थात क श्रेणीको ठेकेदार समेत हुन् । कालिका कन्ट्रक्सनका मालिक हुन् । पाण्डेको निर्माण व्यवसाय छोरा निकोलस पाण्डेले हेर्दै आएका छन् । धेरै जिल्लामा उनले सहरी विकास मन्त्रालयकै विकास निर्माणका ठेक्काको काम समेत गर्दै आएका छन् । राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनी विरुद्ध २०७५ मंसिरमा मुद्धा परेको थियो । ४ करोड धरौटी बुझाएर रिहा भएपनि भ्रष्टचारीको दाग हटेको छैन ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिभा सदस्यमा निर्वाचित पाण्डेले चुनावमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पारेको आरोप समेत लागेको थियो । उनले कैयन क्लब, सहकारीहरुलाई भाँडा, कुर्चि, साउण्ड सिष्टम लगायतका समाग्री सहयोग गरेर मतदाता प्रभावित पारेको आरोप छ । पाण्डेले भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपेका छन् ।
अर्बौ घोटलाको आरोपी व्यक्ति फेरी मन्त्री बनेपछि टिकाटिप्पणी सुरु भएको छ । १८ वर्षसम्म निर्माण सम्पन्न नभएको सिक्टा सिँचाईलाई अलपत्र पार्ने को हो भन्ने अझै पहिचान भएको छैन । नवनियुक्त मन्त्री पाण्डेले आफ्नै छोरा निकोलस र आफन्ती रहेका निर्माण व्यवसायीहरुलाई ठेक्का दिलाउन सहज हुने गरी मन्त्रालय रोजेको टिप्पणी भएका छन् । पाण्डे यसअघि भूमिसुधार तथा वनमन्त्री बनेका थिए । पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् ।