भरतपुर । चितवनबासीले गृहमन्त्रीको भाषण सुन्न पैसा तिर्नुपरेको गुनासो गरेका छन् । खिचरा महोत्सवको उद्घाटनका दिनमै प्रवेश शुल्क लिएकोमा स्थानीयहरुले दुखेसो पोखे । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खैरहनी–५ जबकौली गौचरनमा आयोजना गरेको ८ औँ खिचरा महोत्सव प्रवेशमा आयोजकले मनपरि शुल्क लिएको दुखेसो पोखेका छन् ।
महोत्सव उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दिउसो १ः१५ बजे महोत्सव स्थल प्रवेश गरेका थिए । उद्घाटनका दिन निःशुल्क प्रवेश दिने भन्दै प्रचार गरेपनि गृहमन्त्री भाषण गरेर बाहिरन नपाउँदै सर्वसाधरणबाट आयोजकले प्रवेश शुल्क लिन थालेपछि स्थानीय आक्रोशित भएका छन् । गृहमन्त्री आउने भएपछि उनलाई हेर्न तथा उनको भाषण सुन्न आएकाहरु टिकट मागेपछि अलमलमा परेका थिए । स्थानीय कृष्ण थापाले उद्घाटनका दिनमा समेत प्रवेश शुल्क लिएर आयोजकले बदमासि गरेको आरोप लगाए ।
गृहमन्त्री लामिछाने करिब साढे २ बजेतिर बाहिरिएका थिए । “रविको भाषण सुन्न आएको थिएँ, तर यहाँ टिकट मागे”, एक जेष्ठ नागरिकले गुनासो गरे, “उद्घाटनको दिनसमेत शुल्क पो मागे ।” स्थानीय जीवन गजुरेलले टिकट मागेपछि गृहमन्त्रीको भाषण सुन्न भित्रै जानै नपाएको दुखेसो पोखे । “उद्घाटनका दिन शुल्क नलाग्ने प्रचार भएकाले पैसा नबोकी आएको थिएँ”, उनले भने, “भित्र गृहमन्त्री मञ्चमै हुँदा गेट बाहिर हामीसँग टिकट माग्ने काम गरे ।”
टिकट तिर्नुपरेपछि सर्वसाधरणले आयोजक तथा जनप्रतिनिधिहरुलाई गुनासो राखेका थिए । चितवन–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्घाटनका दिनमा समेत शुल्क लिएकोबारे आँफुलाई जानकारी नभएको बताए । “उद्घाटनका दिन प्राय शुल्क लिने गरिदैन, यहाँ शुल्क लिइयो भन्ने सुनेँ”, उनले भने, “यो बारे म आयोजकसँग बुझ्नेछु ।” दिउसो १ बजे अगाडी आयोजकले टिकट लिएको थिएन ।
तर, पछि सर्वसाधरणको भीड बढेपछि शुल्क लिन आयोजकले कर्मचारी खटाएको थियो । महोत्सवका संयोजक कृष्णलाल चौधरीले उद्घाटनका दिन साँझपख लिने कुरानै भएको बताए । “सुरुमा शुल्क नलिने भन्नेनै थियो, पछि शुल्क लिनुपर्ने भन्ने भयो”, कपुरबोट मिडियासँग कुराकानी गर्दै उनले भने, “हामीले शुल्क लिएका हौँ, तर उद्घाटनसत्र नसकिदानै लिने भन्ने थिएन, के रहेछ बुझ्ने छौँ ।” महोत्सव अवलोकनका लागि सर्वसाधरणका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।