भरतपुर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारलाई समर्थन गरेर महाभुल नगर्न सुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारलाई समर्थन नगर्न अनुरोध गरेका छन् । उनले लेखेका छन्– संसदीय व्यवस्था भित्र रहेको ‘पक्ष’ र ‘प्रमुख प्रतिपक्ष’ को संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरु र काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित माननीय ज्युहरुमा अनुरोध गर्दछु ।
उनले सरकारलाई समर्थन गरेमा २८ गते बस्ने केन्द्रीय समितिको बैठकमा समिक्षा गरिने उल्लेख गरेका छन् । उनले सोमबार पनि सामाजिक सञ्जालमा सत्ताबाहिरको भूमिका कांग्रेसले निर्वाह गर्नुपर्ने भन्दै प्रतिपक्षमै बस्न सुझाएका थिए । उनले लेखेका छन्– ‘बहुदलीय व्यवस्थामा सत्ता भन्दा सत्ता बाहीर बस्ने (प्रतिपक्ष ) को भुमिका बढी हुन्छ । डाइरेक्ट पावर प्रयोग नगरे पनि सत्ताको दुरुपयोग रोक्न प्रतिपक्ष चाहिन्छ ।
यसर्थ शशक्त र रचनात्मक प्रतिपक्षीको आधारमा जनजीविका सवाल उठान गर्नु नै हाम्रो अहम् भुमीका हुनेछ ।’ उनी निर्वाच्न अगाडीदेखिनै गठबन्धनको विपक्षमा उभिएका थिए । गठबन्धन गरेर चुनावमा होमिएपनि माओवादी केन्द्रले एमाले सहितका ७ दलसँग नयाँ गठबन्धन गरेर सरकार बनाएको छ । मंसिर ४ को चुनावबाट पहिलो दल बनेपनि कांग्रेस सत्ताबाहिर पुगेको छ ।