काठमाडौं । प्रदेश सरकार गठनका लागि आब्हान भएसँगै भटाभट सरकार गठन हुन थालेका छन् । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् । माओवादी केन्द्र बिना नै ३ जनाले शपथ ग्रहण गर्ने भएका हुन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् । मन्त्रीलाई मन्त्रालय तोकिएको छैन । नेकपा एकीकृत माओवादीले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।
गण्डकीको मुख्यमन्त्रीमा खगराजले पेश गरे दाबी, शपथ आजै
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेत खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् ।केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।
बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त
हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।