काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछिको पहिलो कारोबार आगामी मंगलबारदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले प्रभु बैंकको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै आगामी मंगलबारबाट एकीकृत कारोबार हुने भएको हो ।
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई एक कित्ता सेयर बराबार एकमा प्राप्ति गरेको हो । राष्ट्र बैंकले पुस १९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले २१ गते एकीकृत कारोबार गर्न स्वीकृति दिएको छ ।
अब सेञ्चुरी कमर्सियल बैंकका सेयरधनीले प्रभु बैंकको नामबाट सेयर खरिद–बिक्री गर्न सक्नेछन् । त्यसका लागि सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आगामी माघ १५ गतेसम्म रोक्का गरिएको छ ।
सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि बनेको बैंकको रजिष्टर्ड कार्यालय हाल प्रभु बैंकको रजिष्टर्ड कार्यालय भएको स्थानमा रहने बताइएको छ । अहिले प्रभु बैंकको रजिष्टर्ड कार्यालय बबरमहलमा रहेको छ ।