भरतपुर । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी सभापति शेरबहादुर देउवालाई सुखद बहिगर्मित हुन आग्रह गरेका छन् । पार्टीका उपसभापति पूर्णबहादुर खड्का वा धनराज गुरुङलाई जिम्मेवारी दिदै मार्गप्रशस्त गरेर कांग्रेसलाई मजबुत बनाउन आग्रह गरेका हुन ।
कुपरबोट मिडियासँग कुराकानी गर्दै उनले पुस २२ गते बस्ने केन्द्रीय समिति बैठकले कांग्रेसलाई थप बलियो र सशक्त बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । देउवा ५ पटक प्रधानमन्त्री भैसकेका थिए । उनी छैटौँपटक प्रधानमन्त्री बन्ने अडानमा रहदा माओवादीले गठबन्धन छाडेर एमाले लगायतका अन्य ७ दलसँग मिलेर नयाँ सरकार गठन गरेको छ । मंसिर ४ को निर्वाचनबाट कांग्रेस पहिलो दल बनेपनि सत्ताबाहिर बस्नुपर्ने अवस्थामा पुगेको छ । निर्वाचनमा गरिएको गठबन्धनबारे पनि गम्भीर समिक्षा गर्न अनुरोध गरेका छन् । कांग्रेस सत्ताबाहिर बस्नुपर्ने अवस्था आउनुको जडबारे पार्टीभित्र छलफल हुन जरुरी रहेको बताए ।
एमाले–माओवादी मिलन दीर्घकालसम्म नरहने उनको जीकिर छ । चुनावमासँगै रहेको माओवादीले कांग्रेसलाई घात गरेको उनले बताए । निर्वाचनका बेला गठबन्धन र पार्टीका उम्मेदवारलाई असहयोग गर्नेलाई कारवाही गर्ने पत्र कार्यान्वयन गर्ने नगर्नेबारे केन्द्रीय बैठकले निर्णय गर्नुपर्ने बताए । कांग्रेसले अहिल्यै सत्तामा जाने प्रयत्न गर्नुभन्दा संगठन निर्माणमा खट्ने स्थिति सृजना गर्नुपर्नेमा जोड दिए । नागरिकता विवादमा सर्वोच्चमा मुद्धा विचाराधिन भएका व्यक्तिनै गृहमन्त्री बनाउँदा त्यसले गलत नजिर बसाल्ने टिप्पणी गरे ।