काठमाडौं । एकपछि अर्को चुनावमा नेकपा (माओवादी केन्द्र) ओरालो लाग्यो । यसपटक पनि धेरै माओवादी नेता चुनावमा पराजित भए । सुदन किराती भने भोजपुरबाट तीन पटक निर्वाचित भए । उनी यसपटक भने मन्त्री नियुक्त हुने आशामा छन् । उनका सपना धेरै ठुला छैनन् । सांसद किराती भन्छन्, ‘हामी ठूल्ठूला परियोजनाको कुरा गर्छौं । हामीलाई ‘गेमचेन्जर’ आयोजनाहरु चाहिन्छन् पनि । तर, जनता सा–साना कुराले समस्यामा परिरहेका हुन्छन् ।’
सांसद मात्र रहे नीतिका कुरा उठाउने मात्र बताएका उनले कार्यकारी पदमा गए नीति कार्यान्वयन गर्ने बताए । यसपालीका मन्त्रीमण्डलमा सहभागी हुने उनको संकेत छ । उनले भने, ‘परिन्छ होला । किन पनि भने, तीनचोटी जितेर मन्त्री नपाएको सांसद कोही छैन । मबाट पार्टीलाई धोका हुने काम कहिल्यै भएको छैन, मूल्य–मान्यतामा उभिएको छु । लुछाचुडी हुँदा पनि म हुनुपर्छ भनेर कहिल्यै दबाव दिइनँ ।’
अध्यक्षले सुदन किरातीलाई व्याजसहित ऋण तिर्नुपर्छ, रोजेको मन्त्रालय दिनुपर्छ भनेर सार्वजनिक सभाहरुमा बोल्नुभएको स्मरण गराउदै उनले यी कारणहरुले गर्दा मेरो नाम पहिलो सूचीमै आउने सम्भावना रहेको बताए ।